728 x 90

भागेका कैदी फिर्ता हुने क्रम जारी

भागेका कैदी फिर्ता हुने क्रम जारी

काठमाडौँ, २८ भदौ । विभिन्न जिल्लाका कारागारबाट भागेका फिर्ता आउने क्रम शुक्रबार पनि जारी रह्यो । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म १२४ जना कैदीबन्दी फिर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका ४७९ कैदीबन्दीमध्ये शुक्रबारमात्र १०३ जनालाई कारागार फिर्ता गरिएको छ । अझै ३५५ कैदीबन्दी

काठमाडौँ, २८ भदौ । विभिन्न जिल्लाका कारागारबाट भागेका फिर्ता आउने क्रम शुक्रबार पनि जारी रह्यो । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म १२४ जना कैदीबन्दी फिर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका ४७९ कैदीबन्दीमध्ये शुक्रबारमात्र १०३ जनालाई कारागार फिर्ता गरिएको छ । अझै ३५५ कैदीबन्दी फरार छन् । कारागारमा ४५३ पुरुष र २६ महिला गरी ४७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी १६९ जना लागुऔषधसम्बन्धी मुद्दाका थिए ।

यस्तै, काठमाडौँस्थित सुन्धारा कारागारबाट भागेका २ कैदीबन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन र सुरज कामत रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषध ओसारपसारमा कसुर ठहरी कैद सजाय भुक्तान गरिरहेकी खातुन गत भदौ २४ गते आन्दोलनका क्रममा भागेकी थिइन् । उनलाई प्रहरीले बिहीबार राति भारत भाग्न लागेको समयमा भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन थापाको कमान्ड र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डमा रहेको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलस्थित सीमा इलाकाबाट खातुनलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेकी खातुनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ ।

त्यस्तै आन्दोलनका क्रममा फरार भएका अर्का १ युवक सीमावर्ती भारतीय क्षेत्रमा पक्राउ परेका छन् । बुधबार राति भारत–नेपाल सीमामा रहेको पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ का सुरज कामत रहेका छन् । भारतीय प्रहरीले सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर उनलाई नेपाल प्रहरीको जिम्मा लगाएको बताइएको छ । कामत नेपाल–भारत सीमावर्ती पिलर संख्या १५४ देखि करिब २०० मिटरभित्र पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका २०० भन्दा बढी कैदीबन्दी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले शुक्रबार बिहानसम्म कारागारबाट भागेका २७३ कैदीबन्दीलाई पक्राउ गरिएको बताए ।

उनीहरूमध्ये कतिपय आफैँ सम्पर्कमा आएका थिए भने धेरैजसोलाई प्रहरीले पक्राउ गरेको थियो । एसएसपी रानाभाटका अनुसार पक्राउ परेकासमेत गरेर अहिलेसम्म सुदूरपश्चिमका ९ जिल्ला कारागारमा पाँच सय ५७ जना कैदीबन्दी रहेका छन् ।

जेनजी आन्दोलनमा प्रदर्शनकारीको सहयोगमा कैलालीसहितका जिल्ला कारागारबाट १ हजार ४४५ कैदीबन्दी भागेका थिए ।

जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट बुधबार बिहान भागेका १३१ कैदीबन्दीलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भागेकामध्ये ११४ जना कपिलवस्तुबाट र अन्य १७ जना अन्य जिल्लाबाट नियन्त्रण लिइएको हो ।

कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ । बिहीबार सबै कैदी–बन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी शुक्रबार कारागार फर्कन थालेका हुन् ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos