काठमाडौँ, ३१ साउन । चिकित्सा शिक्षा आयोगले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाका विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ‘पिसिएल’ तहको संख्या वृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको आयोगको २१औैँ बैठकले सिट संख्या बढाउने निर्णय गरेको हो । बैठकले विभिन्न स्नातक तहमा १ हजार
काठमाडौँ, ३१ साउन । चिकित्सा शिक्षा आयोगले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाका विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ‘पिसिएल’ तहको संख्या वृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको आयोगको २१औैँ बैठकले सिट संख्या बढाउने निर्णय गरेको हो ।
बैठकले विभिन्न स्नातक तहमा १ हजार ३५९ सिट थप गरिने भएको छ । एमबिबिएसका सबै कलेजमा गरेर कुल ४९५ सिट थप गर्ने निर्णय भएको आयोगका एक सदस्यले जानकारी दिए । योसँगै अब एमबिबिएसको सिट संख्या २ हजार ६३५ पुगेको छ । यसअघि एमबिबिएसका लागि २ हजार १४० सिट थियो ।
यस्तै, नर्सिङतर्फ बिएस्सी र बिएनएससहित ५६२ सिट थप भएको छ । बिएस्सी नर्सिङमा ४४० सिट थप गर्ने निर्णय भएको हो । यसअघि बिएस्सी नर्सिङमा १ हजार ९ सय ९० सिट रहेकोमा अब उक्त संख्या बढेर २ हजार ४३० पुगेको छ । बिएनएसतर्फ १२२ सिट थप भएको छ । बिएनएसमा यसअघि ९४० सिट थियो भने अब उक्त संख्या बढेर १ हजार ६२ पुगेको छ ।
यसैगरी, बिपिएचमा ६२ सिट थप भएको छ । बिपिएचमा यसअघि ६५० सिट थियो भने अब उक्त संख्या बढेर ७१२ पुगेको छ । बिफार्मेसीमा पनि १४० सिट संख्या बढेको छ । यसअघि ६९५ सिट रहेकोमा उक्त संख्या बढेर ८३५ पुगेको हो ।
त्यसैगरी आयोगले बिएमएसको सिट संख्या भने घटाउने निर्णय गरेको छ । गत वर्ष १०० सिट संख्या रहेको उक्त विषयमा ३५ सिट घटाएर अब ६५ सिट मात्र कायम भएको छ । यससँगै सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरूमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस रहेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालले १२० सिट पाएको छ ।
गत असार ३२ गते भएको आयोगको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियोे ।
यता चिकित्सा शिक्षा सुधारका अभियन्ता भनिएका डा. गोविन्द केसी चिकित्सा शिक्षा प्रणालीमा पारदर्शिता र पहुँचको पक्षमा आन्दोलन गर्दै आएका छन् । उनले यसअघि मेडिकल कलेजको सिट र शुल्क वृद्धि नगर्न यसअघि चेतावनी दिएका थिए । आयोगले अटेर गर्दै सिट संख्या बढाएपछि उनले पुनः आन्दोलन सुरु गर्ने सम्भावना बढेको छ ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *