728 x 90

उपत्यकामा खुकुलो बन्दै निषेधाज्ञा, सडकमा चहलपहल बढ्यो

उपत्यकामा खुकुलो बन्दै निषेधाज्ञा, सडकमा चहलपहल बढ्यो

काठमाडौँ, २८ भदौ । नेपाली सेनाले लगाएको काठमाडौँ उपत्यकाको कफ्र्यु र निषेधाज्ञा खुकुलो बन्दै गएको छ । बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म निषेधाज्ञा केही खुकुलो बनाइएको थियो । यस्तै, साँझ ५ बजेदेखि ७ बजेसम्म पनि निषेधाज्ञा खुकुलो गरिएको थियो । निषेधाज्ञा खुकुलो भएपछि बुधबारको तुलनामा बिहीबार बिहान सडक तथा पसलमा चहलपहल बढेको थियो ।

काठमाडौँ, २८ भदौ । नेपाली सेनाले लगाएको काठमाडौँ उपत्यकाको कफ्र्यु र निषेधाज्ञा खुकुलो बन्दै गएको छ । बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म निषेधाज्ञा केही खुकुलो बनाइएको थियो । यस्तै, साँझ ५ बजेदेखि ७ बजेसम्म पनि निषेधाज्ञा खुकुलो गरिएको थियो । निषेधाज्ञा खुकुलो भएपछि बुधबारको तुलनामा बिहीबार बिहान सडक तथा पसलमा चहलपहल बढेको थियो । त्यस बेला सर्वसाधारण विभिन्न कामका लागि सडक र पसलसम्म निस्किएका थिए । सवारीसाधन पनि निर्वाध रुपमा चलेका थिए । बिहीबार साँझ ७ बजेदेखि पुनः कफर््यु लगाइयो ।

बिहीबारदेखि नेपाली सेनाले सुरक्षा व्यवस्था झनै कडा बनाउने संकेत देखायो । काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाडौँ ल्याएको छ । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो नेपाली सेनाको फौज काठमाडौँ पठाइएको हो ।

नेपाल प्रहरी पनि बिहीबारदेखि अलि सक्रिय देखिएको छ । देशभरिका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको थियो । प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

बिहीबारदेखि विभिन्न दल निकट पूर्वविद्यार्थी नेताहरू पनि सक्रिय देखिएका छन् । उनीहरूले जननिर्वाचित संसदबाटै वर्तमान राजनीतिको निकास खोज्नुपर्नेमा जोड दिएका छन् । बिहीबार संयुक्त वक्तव्यमार्फत उनीहरूले प्रतिगामी तथा अवान्छित तत्वहरूबाट गरिएको संसद विघटनको मागलाई दृढतापूर्वक अस्वीकार गर्ने उल्लेख गेरका छन् ।

‘आमजनता र युवाहरूको भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्नेजस्ता मागलाई सम्बोधन गर्न संसदबाटै राजनीतिक निकास खोज्न, संसदभित्रबाटै नयाँ सरकार गठन गरी चुनावको वातावरण बनाउनु आजको वास्तविक यथार्थ र आवश्यकता हो, विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन विश्वविद्यालयमा नेविसंघ निकट विद्यार्थी संगठनले संविधानको रक्षा गर्न माग गर्दै बिहीबार प्रदर्शन गरे । नेविसंघको आयोजनामा प्रदर्शन भएको हो ।

‘लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो । कानुनी शासनको विकल्प छैन । लोकतन्त्रको विकल्प छैन । सार्वभौमसत्ताको रक्षाको लागि एकजुट बनौं,’ त्रिवि स्ववियु अध्यक्ष दीपकराज जोशीले भने । यस्तै, नेपाल पत्रकार महासंघले पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको जनायो । महासंघले प्रदर्शनका क्रममा मिडिया हाउस जलाइएको र पत्रकार माथि आक्रमण गरिएको भन्दै आपत्ति जनाएको हो ।

‘अहिले देशैभरी पत्रकारहरूले असुरक्षित महसुस गरिरहेका छन् । ४ जना पत्रकार गोली लागि घाइते भएका छन् । धेरै मिडिया हाउस जलाइएका र आक्रमण गरिएको छ,’ महासंघले भनेको छ ।

बिहीबार काठमाडौँको सुन्धारा अगाडि युवाहरूबीच झडप भयो । जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा भेला भएका बेला झडप भएको थियो ।
प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन अवस्थामा छ । नेपाली सेनाले कमान्ड हातमा लिएर युवाहरूसँग छलफल गर्न थालेपछि फरक–फरक समूह जेनजी आन्दोलनको नेतृत्वकर्ताको दाबी राखेर प्रस्तुत भइरहेका छन् ।

समानुभूति नेपालले अस्पतालमा उपचाररत घाइते र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क खाना खुवाइरहेको छ । समानुभूति नेपालले यतिबेला निजामती (सिभिल) अस्पतालमा सबैभन्दा सक्रिय छ । सोमबार र मंगलबारको जेनजी प्रदर्शनका क्रममा अस्पतालमा भर्ना भएका घाइते र उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीका लागि संस्थाले निःशुल्क खानाको व्यवस्था गरेको हो ।
यस्तै, नेकपा एमाले र र नेकपा एकीकृत समाजवादीका विद्यार्थी संगठनले संविधानको रक्षामा उभिन आह्वान गरे । बिहीबार काठमाडौँको नेपाल कमर्स क्याम्पस मीनभवनमा उभिएर उनीहरूले संविधानको र
क्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गर भन्ने प्लेकार्ड बोकेर उभिएका हुन् । ‘न्यायिक आवाजलाई दबाउने कोसिसले मात्र राजनैतिक ढाँचा कमजोर बनाउँछ । सत्य र संविधानको पक्षमा उभिने शक्ति नै मुलुकको रक्षा गर्ने असली रणनिति हो’, अखिलका निवर्तमान अध्यक्ष समिक बडालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

निजामती कर्मचारीहरुले सिंहदरबारभित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका छन् । उनीहरूले बिहीबार सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आ–आफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन् ।

निजामती कर्मचारीहरूको बाहुल्य रहेको ‘सार्वजनिक नीति संवाद’ मा कर्मचारीहरूले सरसफाइका लागि आह्वान गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा छठपछि मात्रै पढाइ सुरु हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने त्रिवि रजिष्ट्रारको कार्यालयले जनाएको छ । कात्तिक १० गते छठपर्व परेको छ ।

‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ,’ सूचना तथा जनसम्पर्क महाशाखाको विज्ञप्तिमा उल्ल्लेख छ । जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ ।

नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपश्चात् भदौ २५ गते बेलुका ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म थप १९२ जना कैदीहरूलाई नियन्त्रणमा लिइएको छ । नेपाली सेनाले बिहीबार विज्ञप्तिमार्फत सप्तरीको राजविराज स्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जेनजी पुस्ताको आन्दोलनका कारण गरी विस्थापित प्रहरी एकाइ पुनःस्थापना गरिएका छन् । बुधबारदेखि ती कार्यालयहरु सोही स्थानमै पुनःसञ्चालनमा ल्याइएको ललितपुर जिल्ला सुरक्षा समितिले जनाएको छ । पुनःस्थापना गरिएका प्रहरी कार्यालयमा वृत्त सातदोबाटो, वृत्त चापागाउँ, प्रभाग इमाडोल, प्रभाग लुभु, प्रभाग मङ्गलबजार, प्रभाग सानेपा, लगनखेल, प्रभाग पुल्चोक, प्रभाग लाकुरीभञ्ज्याङ, प्रभाग हनुमानस्थान र प्रभाग पाटनढोका रहेका छन् ।

ललितपुर जिल्ला सुरक्षा समितिले हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै जिल्लावासीलाई सतर्क रहन अनुरोध गरेको छ । सुरक्षा समितिले विशेषगरी टोलमा नयाँ वा अपरिचित व्यक्ति देखिएमा तत्काल नजिकैको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos