728 x 90

अस्ट्रेलियाको टी–२० शृंखलामा नेपालको लगातार दोस्रो जित

अस्ट्रेलियाको टी–२० शृंखलामा नेपालको लगातार दोस्रो जित

काठमाडौँ, ४ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएसँगै प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि मंगलबार भएको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीमाथि ६६ रनको जित दर्ता गरेको थियो । यसअघिका

काठमाडौँ, ४ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएसँगै प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि मंगलबार भएको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीमाथि ६६ रनको जित दर्ता गरेको थियो । यसअघिका ३ खेलमा भने नेपाल लगातार पराजित भएको थियो ।

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा बुधबार भएको खेलमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा अलआउट भयो । रेनेगेड्सका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाए भने जे लेमिरले १८ र ह्यारी डिक्सनले १६ रन बनाए ।

रेनेगेड्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी एक्लैले ५ विकेट लिए भने कुशल भुर्तेलले २ र रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान १–१ विकेट झारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिए । उनले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२–१२ रन बनाए ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान २–२ विकेट लिए । नेपालले यसअघि खेलको ४ खेलमध्ये १ मा जित तथा ३ खेलमा हार बेहोरेको थियो ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । नेपालले यही ६ भदौमा पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

यो शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ । दोस्रो शृंखलामा पनि नेपाली टोलीले कुल ५ खेल खेल्नेछ । नेपाली टोलीले यी दुवै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता आगामी ८ देखि १७ अक्टोबरसम्म ओमानमा आयोजना हुँदै छ ।

छनोट प्रतियोगितामा नेपालसहित ९ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्युगिनी र समाओ रहेका छन् । अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट ३ वटा टोली आगामी आइसिसी टी–२० विश्वकपमा पुग्नेछन् । यो प्रतियोगिता सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदै छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos